केशरमहलबाट पुरातात्त्विक सामग्री चोरीमा ठेकेदार नै संलग्न, दुई जना पक्राउ


काठमाडौ, ०६ माघ । काठमाडौं केशरमहलबाट पुरातात्त्विक महत्त्वका सामग्री चोरीमा ठेकेदार नै संलग्न भएको खुलेको छ । पुरातात्त्विक महत्त्वका सामग्री चोरीमा भवनमा रेट्रोफिटिङ गर्ने मजदुरका ठेकेदार गणेश श्रीपाली पनि संलग्न भएको खुलेको हो ।
केशरमहलभित्र रहेका केशर पुस्तकालयको ठूलो कोठाभित्र राखिएका बाघको टाउको, दुईवटा तरबारलगायत सामग्री सोमबार चोरी भएको थियो । चोरीमा संगल्न भएको आरोपमा दाङ तुलसीपुर उपमहानगरपालिका-३ का १८ वर्षीय सुमन शर्मा र रुकुम पश्चिमका मुसिकोट नगरपालिका-११ का ३६ वर्षीय वीरबहादुर सुनार पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए । शर्मा र सुनारलाई बुधबार नै पक्राउ गरिएको हो ।
८-१० दिनअघि गणेशले आफ्नो सामान र स्कुटर केशरमहलमै छोडेको र त्यो लिएर आउन आफूलाई पठाएको शर्माले प्रहरीलाई बयान दिएका छन् । केशरमहलबाट बा ४२ प २६९४ नम्बरको स्कुटर र स्कुटरमा राखेको सामान लिएर निस्किने क्रममा गार्डले के सामान लिएर आएको भनेर सोधेपछि आफूले स्कुटर र सामान कम्पाउण्डमै फालेर भागेको शर्माले बयान दिएका छन् । पुरातात्त्विक महत्त्वका सामग्री चोरी गरेर बोरामा राखेर फालेको र त्यो लिन जाँदा उनीहरू पक्राउ परेको एसएसपी कुँवरले बताए ।
उक्त घटनामा ठेकेदार गणेशसँगै देवेन्द्र केसीको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ । गणेश र देवेन्द्र दुवै जना फरार छन् ।






















