प्रहरी निरीक्षक लिम्बु र जवान कार्की महिनाको उत्कृष्ट प्रहरी घोषित


मोरङ, ६ माघ । इलाम र उदयपुरमा कार्यरत दुईजना प्रहरी प्रदेश १ मा पुस महिनाको उत्कृष्ट बनेका छन्।
इलाका प्रहरी कार्यालय पशुपतिनगर ईलाममा कार्यरत प्रहरी निरीक्षक देउप्रसाद लिम्बु र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा कार्यरत प्रहरी जवान नरबहादुर कार्की महिनाको उत्कृष्ट प्रहरी घोषित भएका प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता उपरीक्षक नविनराज राईले जानकारी दिए । २० वर्ष अगाडी कर्तव्य गरी ज्यान मारेर फरार भएका अभियुक्त पक्राउ गर्न प्र.नि लिम्बु सफल भएका थिए।
यसैगरी, प्र.ज कार्कीले क्षमता भन्दा बढी यात्रु हाल्दा सप्तकोसीमा डुंगा पल्टिँदा १२–१५ जना बेपत्ता पारेको ज्यान सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीलाई ८ वर्षपछि पक्राउ गरेका थिए।
प्रवक्ता राईका अनुसार हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई प्रदेश प्रहरी कार्यालयले ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै कार्यालयमा रहेको स्तम्भमा कार्य विवरण प्रकाशित गराउँदै आएको छ।






















