Opens in a new tab

खेलकुद

विश्वकपका लागि क्रिकेट टोलीको घोषणा

जगत ठाडा मगर
२०७८ माघ ६ | मध्यान्ह ०२:१० बजे

काठमाडौँ, ६ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम १६ सदस्यीय टोलीको छनोट गरेको हो । छनोटमा युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै शरद भेषवाकर, प्रदीप ऐरी र जीतेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विनोद भण्डारी र सोमपाल कामी भने टोलीमा परेका छैनन् ।

विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फेब्रीअरी १७ देखि २४ तारिखसम्म ओमानमा आयोजना हुँदैछ । उक्त छनोटमा आयोजक ओमानसहित नेपाल, फिलिपिन्स, क्यानडा, संयुक्त अरब इमिरेट्स (युएई), बहराईन, आयरल्याण्ड र जर्मनी रहेका छन् ।

यस समूहबाट शीर्ष दुई टोली यसैवर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने छन् । नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जीतेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी छन् । (रासस)

कमेन्टहरु