मुख्य समाचार

जंगी अड्डाले गर्‍यो मेजर शाहीलाई बर्खास्त

जगत ठाडा मगर
२०७८ माघ ६ | बिहान ११:१० बजे

काठमाडौं, ०६ माघ । जंगी अड्डाले सैनिक आचरण विपरित कार्य गरेको भन्दै सुदूरपश्चिम पृतना तालिम शिक्षालयका मेजर अशोक शाहीलाई बर्खास्त गरेको छ।

सैनिक आचरण विपरित कार्य गरेपछि उनलाई सैनिक ऐनअनुसार बर्खास्त गरिएको नेपाली सेना सहायक रथी एवम् प्रवक्ता नारायण सिलवालले अन्नपूर्णलाई जानकारी दिए।

सेनानी शाहीले मदिरा सेवन गरेको, होटल पुगेर ग्राहक र सर्वसाधरणसँग झगडा गरेको आरोप लागेपछि घटनाको अनुसन्धानका लागि तत्काल कोर्ट अफ इन्क्वाइरी गठन भएको थियो। सोहि समितिको प्रतिवेदनका आधारमा उनलाई सेवाबाट हटाएको हो। गत कात्तिक २१ गते कैलालीको चिसापानीस्थित होटल संगममा शाही र होटल सञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका युवाबीच झगडा भएको थियो।

शाहीले सुरुमा ग्राहकसँग झगडा गरेका थिए। पछि ब्यारेक फर्किएर हतियारसहित ड्युटी रहेका सैनिकलाई लिएर पुनः होटलमा पुगेपछि विवाद थप चर्किएको थियो। हतियार देखाएर झगडा गर्न थालेपछि स्थानीय बासिन्दाले उनीमाथि कुटपीट गरेर प्रहरीलाई बुझाइएका थिए। प्रहरीले त्यसपछि मेजर शाहीलाई सेनाको जिम्मा लगाएको थियो।

कमेन्टहरु