देश

प्रहरीसहित दुई जनालाई खुकुरी प्रहार गर्ने तामाङ पुर्पक्षका लागि चलान

जगत ठाडा मगर
२०७८ माघ ६ | बिहान १०:१० बजे

बुट्वल, ०६ माघ । प्रहरीसहित दुई जनालाई खुकुरी प्रहार गर्ने शनि तामाङलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । गत पुस १० गते राति १२ः४५ बजे काठमाडौंको तारकेश्वर नगरपालिका–८ शेषमती लामबगर नजिक सामान्य विषयमा विवाद हुँदा उनले सुवास तामाङलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

रामेछाप जिल्लाको मन्थली लिखुँ गाउँपालिका घर भई हाल तारकेश्वर नगरपालिकाको जरङ्खु बस्ने २९ वर्षीय शनिले दोलखा जिल्लाको चरिकोट गाउँपालिका– १ घर भई हाल तारकेश्वर नगरपालिकाको लामाबगर बस्दै आएका २८ वर्षीय सुवासलाई खुकुरी प्रहार गरी भाग्ने क्रममा प्रहरीले लखेटेको थियो ।

प्रहरीका अनुसार सोही क्रममा शनिले महानगरीय प्रहरी वृत्त बालाजु दरबन्दी भई हाल महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत प्रहरी नायव निरीक्षक पदम अवस्थीलाई समेत खुकुरी प्रहार गरेका थिए ।

प्रहरी नायव निरीक्षक अवस्थीले खुकुरी प्रहारबाट आफू घाइते हुँदासमेत शनिलाई खुकुरीसहित नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरी बृत्त बालाजुबाट अनुसन्धान कार्य सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरिएको र काठमाडौं जिल्ला अदालतको माघ ५ गतेको आदेशले शनिलाई पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु