देश

कुलमान घिसिङले फेरि गरे अर्को कमाल, देशभरबाट प्रशंसा

जगत ठाडा मगर
२०७८ माघ ५ | मध्यान्ह ०४:१० बजे

बुटवल, ०५ माघ । नेपाल विद्युत प्राधिकरणले घरधनीले घरभाडामा बस्ने व्यत्तिहरुसँग तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा लाइन काट्न सकिने व्यवस्था गरेको छ ।

घरधनीले डेरावालसँग महँगो विद्युतको महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले तोकिएको भन्दा बढी महसुल लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो । यसबाट घरभाडामा बस्ने उपभोक्ताहरुलाई सर्वसुलभ विद्युत् सेवाको प्रत्याभूति हुने छ । घरभाडामा बस्ने व्यक्तिहरुले तोकिएका निश्चित सर्त पूरा गरी छुट्टै मिटर राखेर विद्युत् सेवा लिन सकिने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाबाट घरभाडामा बस्ने उपभोक्तालेसमेत अन्य ग्राहक सरह सर्वसुलभ विद्युत् सेवा उपभोग गर्न पाउने छन् ।

बक्यौता भुक्तानी गर्ने प्रतिबद्धतासहित छुट्टै मिटर राख्नको लागि घरधनीको लिखित सहमति, घरधनी र बहालमा बस्ने बीच कम्तीमा एक वर्षका लागि गरिएको घरबहाल सम्झौता, घरबहालमा बस्ने व्यक्तिलाई छुट्टै मिटर दिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त भएमा, घरधनीको बाँकी बक्यौता नभएमा र बहालमा बस्नेको मिटर समेत एउटै ठाउँमा राख्न सकिने गरी वायरिङको व्यवस्था गरिएका सर्त पूरा गर्नु पर्ने छ ।

यस्तै विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाउन्डमा ठूलो क्षमताको छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने छन् । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण विनियमावली २०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरेको हो । प्राधिकरण सञ्चालक समितिको गएको २० पुसको ८९२ औँ बैठकबाट पारित भएको विनियमावली कार्यान्वयनमा आइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् सेवा छिटो, सर्वसुलभ एवम् सहज रुपमा उपलब्ध गराउन र विद्युत् खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत् वितरण विनियमावली कार्यान्वयमा ल्याइएको बताए विनियमावलीमार्फत प्राधिकरणले विद्युतीय गाडीका लागि चार्जिङ पूर्वाधार निर्माण तथा सञ्चालनका नीतिहरु कार्यान्वयनमा ल्याएको छ ।

यस्तै प्राधिकरणले सहकारी संस्थाले सञ्चालन गरेका दुग्ध चिस्यान केन्द्र तथा शीत भण्डार र सहकारी संस्था वा समुदायमार्फत सञ्चालित खानेपानी तथा सिँचाइलाई पनि सुविधा दिएको छ । दुई सय केभीएसम्म डिमान्ड भएका त्यस्ता ग्राहकलाई प्राधिकरणले आफ्नै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने छ । यसबाट त्यस्ता ग्राहकको ट्रान्सफर्मर खरिदमा हुने खर्च कटौती भइ यो सुविधाबाट लाभान्वित हुने घिसिङले बताए ।

यस्तै अपार्टमेन्ट, बहुतले आवासीय भवन, कोलोनीहरुमा बसोबास गर्ने उपभोक्ताहरुलाई तोकिएका सर्त पूरा भएमा अन्य ग्राहकसरह विद्युत् सेवा उपलब्ध गराउने व्यवस्था विनियमावलीमा गरिएको छ । अहिले अर्पाटमेन्टहरुले आफूले प्राधिकरणबाट विद्युत् लिएर त्यहाँभित्र बस्नेलाई महँगो शुल्क लिएर आपूर्ति दिँदै आएका छन् ।

अब अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट मिटर लिएर सिधै विद्युत् लिन सक्ने हुँदा महसुल सस्तो पर्ने भएकोले विद्युतीय उपकरणको प्रयोगमा वृद्धि भइ विद्युत् खपत बढ्ने घिसिङले बताए ।

कमेन्टहरु