मुख्य समाचार

विशेष अदालतमा थुनुवाबाहेक सबै सेवा स्थगित

जगत ठाडा मगर
२०७८ माघ ५ | मध्यान्ह ०४:१० बजे

काठमाडौं, ०५ माघ । विशेष अदालतले कोरोना सङ्क्रमण जोखिम बढेका कारण थुनुवाबाहेक सबै सेवा स्थगित गरेको छ । बुधबार एक सूचना जारी गर्दै विशेष अदालतले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने जनाएको हो ।

मंगलबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)को निर्णय अनुसार माघ ६ गतेदेखि १८ गतेसम्म अदालतबाट प्रवाह हुने अत्यावश्यकबाहेक सेवामा कटौती र स्थगन गर्ने निर्णय भएको सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

‘यस अदालतमा कार्यरत केही कर्मचारी एवं नियमित बहस पैरवीमा उपस्थित हुने केही सरकारी वकिल र कानुन व्यवसायीसमेत सङ्क्रमित हुनुभएका र अन्यसमेत सङ्क्रमितको सम्पर्कमा रहन पुगेको परिस्थितिमा नियमित कार्यसञ्चालन गर्दा थप सरोकारवालामा समेत प्रत्यक्ष जोखिम हुन सक्ने परिस्थितिको मूल्याङ्कन गरेर आवश्यक सावधानी अपनाउनु पर्ने भएकोले यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ’, अदालतको सूचनामा लेखिएको छ ।

यसअवधिमा थुनुवा भएका मुद्दाको सुनुवाइ (भर्चुअल माध्यमबाट), आरोपपत्र–अभियोगपत्र दर्ता, आरोप–पत्र, अभियोग–पत्रसाथ उपस्थित गराइएका अभियुक्त थुनछेक र म्याद थप (भर्चुअल माध्यमबाट) सुचारु रहेने अदालतले जनाएको छ ।

यसैगरी, सो अवधिभर थुनुवा भएका मुद्दा बाहेकका अन्य मुद्दाको साप्ताहिक तथा दैनिक पेशी र सो को सुनुवाइ, पेशी एवं साधारण तारिख, साक्षीको बकपत्र, हाजिर हुन आउने एवं बारेस अनुमतिलगायत निवेदन पेशी, धरौटी फिर्ता र रोक्का फुकुवा सम्बन्धी सेवा र फैसला–आदेश–कागजातको प्रमाणित प्रतिलिपीसम्बन्धी सेवा स्थगन गरिएको छ ।

photo 2022 01 19 02 50 16

कमेन्टहरु