रकम नपाए सिंहदरबार घेर्छाैँ – उखुकिसान


मंसिर २८,काठमाडौं ।
गत वर्ष भएको सम्झौता तत्काल पूरा नभए प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने उखु किसानहरुले चेतावनी दिएका छन् ।
गत पुस १८ गते आफूहरुसँग भएको सम्झौता कार्यान्वन गर्नुपर्ने माग गर्दै उनीहरुले आफूहरुको माग सुनुवाई नभए सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने चेतावनी दिएका हुन् ।
चिनी मिल सञ्चालकहरुले वर्षौसम्म वक्यौता रकम नदिएपछि गत वर्ष पुसमा पनि काठमाडौं आएर आन्दोलन गरेका उखु किसान पुनः काठमाडौं आएर प्रदर्शन सुरु गरेका छन् । सरकारले गतवर्ष रकम उपलब्ध गराइदिने भन्दै ५ बुँदे सम्झौता गरेको थियो ।
वर्षौसम्म उखुको बक्यौता नपाएपछि उखु किसान पुनः सडकमा आउन बाध्य भएका हुन् । आफूहरुले पाउनुपर्ने रकम नपाएसम्म गाउँ नफर्कने अठोटसहित काठमाडौंमा आएर उखु किसान आन्दोलित भएका हुन् ।
गत वर्ष सरकारले नै आफूसँग भएको लिखित सम्झौता कार्यान्वयन नभएपछि आन्दोलन गर्न बाध्य हुनुपरेको उनीहरुले बताएका छन् । आजदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शनमा रहेका उखु किसानले पाउनु पर्ने रकम नपाएसम्म गाउँ नफर्कने बताएका छन् ।
उखु किसानहरुले आफूहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर, किसान मार्न पाइँदैन, बिर्कोमा लाको चिनीमा कसरी पस्यो माफिया, सानो छ खेत सानो छ बारी सानै छ जहान सानो छ देश, ठूलो छ सरकार, अटेन किसानलगायतका ब्यानर लिएर सडकमा आएका हुन् ।























