पाल्पा बस दुर्घटनाका ७ जना मृतकको सनाखत


पाल्पा, पुस १८ गते । पाल्पाको रिब्दीकोट– २, लघुवामा आइतबार बिहान बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आइतबार बिहान सात बजेतिर शब र मलामी लिएर बुटवलबाट रिडी हिडेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृतक सातै जनाको सनाखत भएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा बुटवल– १७ का २७ वर्षीय पशुपति रसाली, बुटवल–१७ कै ४० वर्षीय खुमबहादुर राना, बुटवल–११ का ३२ वर्षीय विजय थापाक्षेत्री, अर्घाखाँची जिल्ला मालारानी– २ का २८ वर्षीय भाजेन्द्र विकको मृत्यु भएको छ । यस्तै अर्घाखाँची मालारानी–२, का २६ वर्षीय शङ्कर विक र मालारानी गाउँपालिका– २ का मोहन कँुवर र अर्घाखाँची मालारानी– २, का ३३ वर्षीय अर्जुन विक रहनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
यस्तै, दुर्घटनामा परेर घाइते हुनुभएका बुटवल १७ का ३८ वर्षीय, विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लालबहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना ६, का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी–२, का ३७ वर्षीय रमेश टोमटा रहनुभएको छ ।
यस्तै अर्घाखाँची डाँडाकटेरी–१ का ५४ वर्षीय गोपाल नेपाली, सैनामैना–६, रूपन्देहीका २९ वर्षीय मीरा रामधान घाइते हुनुभएको छ । यस्तै बुवटलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दिपक विक र तुल्सी विक रहनुभएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूमा नौँ जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ भने छ जनाको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि नेपाल प्रहरी, शसत्र प्रहरी र स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए ।
बुटवल– १७ का ६७ वर्षीय वीरबहादुरको शबसहित मलामी लिएर उक्त बस रिडीतर्फ गईरहेको बेलामा अनियन्त्रित भई दुर्घटना भएको घाइतेले जनाएका छन् । ओरालो र ओसिलोबाटोमा ब्रेक नलागेका कारण दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनापछि फरार रहेका रम्भा गाउँपालिका– १, पाल्पाका चालक रुक्मागत बस्याल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले जानकारी दिनुभयो ।






















