पर्यटन क्षेत्रको रूपमा नुनथर(गोपाल कुटी)


बिनोद मण्डल
सिरहा । प्राकृतिक रूपमा धनी देशको रूपमा परिचित हाम्रो नेपालमा कतिपय पर्यटन क्षेत्रमा नेपाल सरकारको ध्यान पुग्न सकेको छैन ।
रौतहट जिल्लाको पूर्वी भागमा नुनथर पर्यटन क्षेत्रको रूपमा विकास आजको आवश्यकता महसुस गरिएको छ । पवित्र वागमती नदीको किनारमा पूर्व पश्चिम राजमार्गको बागमती पुलको करिब ३०० मीटर उत्तरमा रहेको चन्द्रपुर नगरपालिकाकाे वडा नं १ नुनथर प्रदेश नं २ को जनकपुर पछिको दोश्रो धाम मानिन्छ । किम्वदन्ती अनुसार गोपाल नामको बाबाले यस ठाउँमा शिवलिङ्ग भेटिएको भनेपछि स्थानिय जनताले यस ठाउँमा मन्दिर निर्माण गरी एक कुटी बनाए । जसले गर्दा यस ठाउँलाई नुनथरका अतिरिक्त गोपाल कुटिको नामले समेत चिनिने गरिन्छ ।
यस ठाउँमा रहेको एक ढुंगामा नुनको स्वाद आउने भएकोले स्थानिय स्तरका गाईवस्तु जंगलमा गएपछि नुनको स्वाद लिने गर्दछ साथै यहाँका तलाउमा नुनिलो पानी भएकोले यहाँका पानीमा स्नान गर्दा खटिरा , एलर्जी हराउने जनविश्वास रहिआएको पाइन्छ ।
त्यस क्षेत्रमा भीमसेन देउताले बागमतीमा बाँध निर्माण गरेर बागमतीको पानी कमला नदीमा प्रवाहित गराउने उदेश्यले निर्माण गरेको बाघको शिला उक्त ठाउँमा भएकोले यस क्षेत्रमा रहेको उक्त बाँधलाई भीमसेन बाँध समेत भनिन्छ । नेपालको पहिलो शहीद लखन थापाको शालिक, पञ्चमुखी हनुमान मन्दिर, शिव मन्दिर, राधाकृष्ण मन्दिर, बागमती नदीको झोलुङ्गे पुल लगायतका भौतिक संरचना यस क्षेत्रका मुख्य आकर्षण केन्द्रको रूपमा रहेको छ ।
नुनथर परिसरमा रहेको पिकनिक थलोको कारण जिल्ला बाहिरका र नेपालका विभिन्न ठाउँबाट पर्यटनको रूपमा दिनानु दिन पर्यटकको आगमन बढिरहेको अवस्था रहेको पाइन्छ । प्राकृतिक सौन्दर्यका बीच उभिएका नुन्थर क्षेत्रमा बेत अध्यधिक मात्रामा पाइन्छ । एकै ठाउँमा बसेर सर्लाही र रौतहट जिल्लाको पवित्र बागमती नदीको दर्शन गर्न पाइने भएकोले प्रदेश नं २ सरकारले यस ठाउँलाई विकासको रूपमा लैजान जरुरी देखिन्छ ।
पर्यटकको आगमन हुने मुख्यद्वारमा नुन्थहर विकास समितिले गाडीबाट आएको शुल्कबाट यस क्षेत्रका विकासमा जोड दिएका छन् भने सरकार मौन बसेको अवस्था रहेको पाइन्छ ।






















