बाँसघारीमा नवजात शिशुको शव फेला

जगत ठाडा मगर
२०७८ पुस १८ | मध्यान्ह ०३:०९ बजे

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–८ देउसामा एक नवजात शिशुको शव फेला परेको छ । आइतबार देउसास्थित बुढिडाँडाको बाँसघारीमा बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
करिब दुई/तीन दिन अघि जन्मिएको जस्तो देखिने उक्त शव आइतबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी टोली घटनास्थलमा पुगेको र कानूनी प्रकृया पूरा गरि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
प्रहरीले स्थानीयसँग सोधपुछ गर्दा आसपासमा त्यस्ता व्यक्ति कोही पत्ता नलागेकाले टाढैबाट ल्याएर छोडेको हुन सक्ने अनुमान गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।






















