नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु


काठमाडौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत पार्टी पदाधिकारी र केन्द्रीय कमिटी छान्न स्थायी कमिटीको बैठक बसेको हो ।
आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एक नेताका अनुसार प्रदेश र प्रवासबाट केन्द्रीय कार्यसमितिमा आकांक्षी केन्द्रीय सदस्यहरूको नाम पनि आजकै स्थायी कमिटी बैठकमा प्रचण्डले प्रस्तुत गर्ने भएका छन् ।
माओवादीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व छनोटका लागि शनिबार नै निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ । जसअनुसार झन्डै साढे १७ सय मतदाता नामावली प्रकाशित भइसकेको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने लागि भन्दै आज दिउँसो २ बजेसम्म बन्दसत्र स्थगित गरिएको छ ।
स्थायी कमिटीबाट पास भएका १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिमा रहनेको नाम प्रचण्डले बन्दसत्रमा प्रस्तुत गर्ने भएका छन् ।






















