माओबादीमा सहमती जुटाउन प्रचण्ड परामर्शमा ब्यस्त


बुटवल । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पदाधिकारीमा सहमति जुटाउन आन्तरिक छलफलमा जुटेका छन्।
पदाधिकारी चयनमा विवाद भएपछि प्रचण्ड सहमतिको प्रयासमा जुटेका हुन्। सर्वसम्मति पदाधिकारीसहित केन्द्रीय सदस्यहरू चयन गर्न अध्यक्ष दाहाललगायत शीर्ष नेताहरू आइतबार बिहानैदेखि छलफलमा जुटेका छन्।
अध्यक्षमा दाहालको विकल्पमा अरु नदेखिएका भए पनि अन्य पदमा धेरै आकांक्षी देखिएपछि माओवादीमा समस्या सिर्जना भएको छ।पार्टी महासचिवका लागि आकांक्षीहरू धेरै जना देखिएका छन्। महासचिव पदमा कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसालले दाबी गरेका छन्।
सहमति जुटाउन भन्दै केन्द्रीय निर्वाचन आयोगले आइतबार १ बजेसम्म सबै निर्वाचन प्रक्रिया स्थगित गरेको छ। अध्यक्ष दाहालले पदाधिकारीसहित अन्य केन्द्रीय सदस्यमा सहमति जुटाए १ बजेपछि बन्दसत्रमा घोाषणा गर्ने तयारी भइरहेको एक नेताले जानकारी दिएका छन्।






















