आर्सनलमाथि म्यानचेस्टर सिटीको पुनरागमन जित


काठमाडौ । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि पुनरागमन जित दर्ता गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले १० खेलाडीमा सीमित आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा सुरुवाती अग्रता आर्सनलले लिएको थियो ।
खेलको ३१औँ मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, आर्सनलले अग्रता जोगाउन नसक्दा घरेलु मैदानमै पराजय भोग्नु पर्यो । पहिलो हाफमा १-० को अग्रता लिएको आर्सनल दोस्रो हाफमा भने सम्हालिन सकेन । खेलको ५७ औँ मिनेटमा सिटीका रियाद महरेजले पेनाल्टीमार्फत गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए । खेलको ५९ औँ मिनेटमा गाब्रियल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।
त्यसपछि खेलको इन्जुरी समयको तेस्रो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए । जितसँगै सिटी २१ खेलमा ५३ अंकका साथ शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानमा रहेको चेल्सीको २० खेलबाट ४२ अंक छ । सिटीसँग पराजित भएको आर्सनल २० खेलबाट ३५ अंकका साथ लिगको चौथो स्थानमा छ ।






















