राजनीति

सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने माओवादीको पहिलो प्रयास

जगत ठाडा मगर
२०७८ पुस १७ | मध्यान्ह ०३:०९ बजे

काठमाडौं, पुस १७ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटी सहमतिबाटै चयन गर्ने पहिलो प्रयास हुने बताएका छन् ।

सहमतिबाट हुन नसके लोकतान्त्रिक विधिका माध्यमबाट कमिटी चयन उनले बताए । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज केही समय स्थगित गरिएको बन्दसत्र दिउँसो २ बजे पुनः सुरु भएको थियो । बन्दसत्रलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

वैचारिक तथा राजनीतिक दस्तावेज तथा विधान मस्यौदाको सर्वसम्मत रूपमा पारित भएको भन्दै उनले अब नेतृत्व चयनको प्रक्रिया सुरु हुने जानकारी गराएका थिए । सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि अहिले बन्दसत्र पुनः स्थगित भई महाधिवेशन आयोजक कमिटीमा छलफल सुरु भएको छ । बन्दसत्र साँझ ५ बजेसम्मलाई स्थगित गरिएको हो ।

महाधिवेशन आयोजक कमिटीमा केन्द्रीय कमिटी चयनबारे सहमति जुट्न नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने पार्टीले जनाएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा जारी महाधिवेशन आजै सम्पन्न गर्ने तयारी छ ।

कमेन्टहरु