माओवादी नेता पुन र चिनियाँ उपमन्त्री झाओबीच द्विपक्षीय भेटवार्ता


काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । स्वास्थ्य उचारका क्रममा चीनको सेन्जेनमा रहेका नेता पुनले सोमबार चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा उपमन्त्री झाओसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।
उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्तामा पूर्व सभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागि भएकी थिइन् । भेटका क्रममा उपमन्त्री झाओले माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सफलताको शुभकामना दिएको बताउदै पुनले भने ‘नेपालको समसामयिक राजनीति, वामपन्थीहरुबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल तथा वाम घटकहरुका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राख्नुभयो ।’
चिनियाँ पक्षको जिज्ञासाको जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टहरुका बीचमा पार्टी एकता गर्ने, त्यो संभव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताएका थिए । चिनिया उपमन्त्री झाओले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे पनि चासो राखेका नेता पुनले बताए ।
एमसीसीबारे अध्ययनका लागि सत्तारुढ गठबन्धनले कार्यदल बनाएको प्रसंग उल्लेख गर्दै नेता पुनले कार्यदलको रिपोर्ट आएपछि राष्ट्रिय हित अनुकुल हुने गरी सरकार र गठबन्धन अघि बढ्ने बताएका थिए । १३ असोजमा उपचारका लागि थाइल्याण्डको बैंकक गएका पुन स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि चीन पुगेका थिए । १० मंसिरयता चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराइरहेका उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि द्विपक्षीय भेटवार्तामा जुटेका हुन् ।
वंशाणुगत तथा विश्वमा विरलै देखिने जण्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराइरहेका नेता पुनले चिकित्सकको सल्लाहपछि छिटै नेपाल फर्कने बताएका छन् ।






















