चुनौतीको सामना गर्न नै नेपाल आएको हुँ : प्रशिक्षक पुबुदु


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले आफू चुनौतीको सामना गर्न नेपाल आएको बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिममा पुबुदुको यो दोस्रो कार्यकाल हो ।
मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए । विमानस्थलमा पुबुदुले आफू चुनौतीको सामना गर्न तयार रहेको बताए । नेपालले आउँदो फेब्रुअरी १५ मा टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । त्यसकै प्रशिक्षणका लागि पुबुदु नेपाल आएका हुन् ।
समूह ‘ए’ मा रहेको नेपालले ओमानमा आयोजकसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिफिन्स र यूएईविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्नुपर्नेछ । यस्तो अवस्थामा पुबुदु दोस्रो कार्यकाल सम्हाल्न नेपाल आइपुगेका छन् । ‘‘यो सबै चुनौती स्वीकार गरेर नै मैले नेपालको प्रशिक्षक बन्ने निर्णय गरेको हुँ । त्यसका लागि म तयार छु,’’ उनले विमानस्थलमा भने ।
यसअघि, सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक रहेका पुबुदुले पछिल्लो समय अमेरिकाको प्रशिक्षण सम्हाल्दै आएका थिए । पुबुदुलाई क्यानले गएको महिना खुला प्रतिस्पर्धामार्फत अनुबन्ध गरेको थियो । पछिल्लो समय क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई बर्खास्त गरेर सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको छ ।
साथै, ज्ञानेन्द्र, दीपेन्द्रसिंह, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको छ । त्यसपछि क्यान र खेलाडीबीच तिक्तता बढेको छ । त्यस विषयमा क्यानमै पनि दुई धार छ । यस्तो अवस्थामा दोस्रो कार्यकाल पुबुदुका लागि थप चुनौती बन्नेछ ।






















