सुनसरीबाट हतियारसहित दुई भारतीय नागरिक पक्राउ

जगत ठाडा मगर
२०७८ पुस १३ | मध्यान्ह १२:०९ बजे

सुनसरी । सुनसरीबाट हतियारसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्लाको कोशी गाउँपालिका-१ लौकहीको बिएस होटलबाट २ थान अटोमेटिक पेस्तोल, ४ थान म्याग्जिन, ३ राउण्ड गोली, २ हजार भारतिय रुपैँया, १ थान मोबाइल र बिआर ५० के ०१४९ नम्बरको मोटरसाइकलसहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारत अररिया पञ्चायत बासमटिया-६ बिहारका ३५ वर्षीय विधानन्द राम र पञ्चायत बासमटिया-२ का ३१ वर्षीय हासिम अंसारी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले हातहतियार र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेका हुन् ।






















