बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला सुरु


सुरज नेपाली
बुटवल, पुष ८ । बुटवलमा आजदेखि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी मेला सुरु हुदै, बुधबार पुस ८ गतेदेखि सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको तयारी पूरा भएको छ ।
उद्योग ब्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म मेला सञ्चालन हुने मेलाको बिहीबार दिउसो २ बजे उद्घाटन हुने भएको हो ।
‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ मूल नाराका साथ सञ्चालन हुने मेलाको दिउसो २ बजेपछि उद्घाटन गरिने आयोजक उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले बताए । उद्घाटनअघि बिहीबार बिहान बुटवल देवीनगर चौपारीबाट झांकीसहितको ¥याली निकालिने अध्यक्ष गैरेको भनाई छ ।
मेलामा महिला उद्यमी, हस्तकला, कृषि र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको उनको भनाई छ । मेला सम्पन्न गर्न अस्थायी संरचनाहरु निर्माणमा ८० लाखदेखि १ करोडसम्म खर्च हुने र मेलामा रहने मेला अवधिभर करिब ५० करोड कारोबार हुने संघका महासचिव पदम जीसीले जानकारी दिए । दुई वर्षसम्म मेला महोत्सव नभएकाले यो मेलामा दर्शकको उत्साहजनक उपस्थिति रहने र ५ लाख बढी दर्शक सहभागी हुने अपेक्षा रहेको उनले बताए ।
मेलामा एक लाख पुरस्कार राशीको डान्स आइडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, मम्मी डान्स र हरेक दिन विभिन्न विधाका राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका आकर्षण रहने सांस्कृतिक संयोजक यमलाल मरासिनीले नवलपुर टुडेलाई बताए ।






















