नेकपा माओवादी केन्द्र प्रदेश–१ को अध्यक्षमा हर्क बहादुर नेम्वाङ निर्वाचित


विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश नं १ को अध्यक्षमा पाँचथरका हर्क बहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन् । प्रदेश कमिटी चयन गर्न बुधबार राति सम्पन्न निर्वाचनमा धरानका मुक्साहाङ मेन्याङबोलाई पराजित गर्दै नेम्वाङ १६९ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी मेन्याङबोले ६४ मतमात्र प्राप्त गरेका थिए ।
नेम्बाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुन् । प्रदेश निर्वाचन समितिका संयोजक राजेन्द्र किराँतीकाअनुसार आठ जना उम्मेद्वारले प्रतिस्पर्धा गरेको तीन उपाध्यक्षमा शिवकुमार डाँगी, मणिकुमार साम्पाङ र देवान चाम्लिङ निर्वाचित भएका छन् । चाम्लिङले १२०, डाँगीले ११३ र साम्पाङले १११ मत प्राप्त गरे । उपाध्यक्षमा पहिलो संविधान सभाका सदस्य मोहनबहादुर खत्री पराजित भए । उनले ८६ मत प्राप्त गरे ।
सचिवमा १४८ मत प्राप्त गरी गणेश उप्रेती निर्वाचित भएका छन् । अर्का प्रतिस्पर्धी सीपी कडरियाले ८३ मत ल्याएर पराजित भएका हुन् । तेह्र जनाले प्रतिस्पर्धा गरेको सहसचिव पदमा कुमारी राई (रचना) ११४, ऋषिराम ढुंगानाले ९५ र सागर किराँती ७३ मत प्राप्त गरी विजयी भएका हुन् । कोषाध्यक्षमा ९६ मत प्राप्त गरी रेवतराज पुरी विजयी भए । कोषाध्यक्षमा चारजनाबीच प्रतिष्पर्धा भएको थियो ।
मङ्सिर २५ गते मोरङको विराटचोकमा उदघाटन भएको माओवादी केन्द्रको सम्मेलनले २५९ जना प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । तर, पदाधिकारी चयन गर्न सकेको थिएन । सर्वसम्मतिको प्रयास असफल भएपछि बुधबार राति चुनाव भएको हो । प्रदेश कमिटीका २५९ सदस्यहरूमध्य २४० जनाले मतदान गरेका थिए । निर्वाचनमा विजयी पदाधिकारीलाई माओवादी नेता राम कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।






















