देश

काँग्रेस प्रदेश २ अधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

जगत ठाडा मगर
२०७८ पुस ८ | बिहान ०८:०९ बजे

काठमाडौं । नेपाली काँग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो ।

जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदानस्थल तोकिएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले बताए । सहमतिमा नेतृत्व छान्ने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । सभापति शेरबहादुर देउवा पक्षले काँग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने नेता विमलेन्द्र निधि र शेखर कोइराला पक्षले काँग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

कृष्ण प्यानलबाट उपसभापतिमा चन्द्रशेखर यादव र विरेन्द्र सिंह उम्मेदवार भएका छन् भने, महामन्त्रीमा उपेन्द्र यादव र वृहस्पतिकृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । देउवा पक्षले सहमहामन्त्रीमा जयनारायण यादव, परशुराम चौधरी र रिता यादवलाई उम्मेदवार बनाएको छ । त्यस्तै रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन् भने महामन्त्रीमा नरेश यादव र हरेस यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

निधि र कोइराला पक्षबाट सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादव र निर्मला सुवेदीले उम्मेदवारी दिएका छन् । कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय महाधिवेशन सम्पन्न पश्चात् हुन लागेको प्रदेश अधिवेशनलाई दुबै पक्षले महत्वका साथ लिएको छ । देउवा पक्षका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण दलबलसहित जनकपुरमा छन् । नवनिर्वाचित सहमहामन्त्रीद्वय महेन्द्र यादव, फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्यहरु चित्रलेखा यादव, सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदय शमशेर राणा, आनन्द ढुंगाना रमेश रिजाल आफ्नो पक्षमा परिणाम निकाल्न लागिपरेका छन् ।

यता निधि– कोइराला पक्षका प्रभावशाली नेताहरु पनि जनकपुरमै छन् । निधि आफै मैदानमा खटिएका छन् । निधिलाई साथ दिन उपसभापति धनराज गुरुङ महामन्त्री गगनकुमार थापा र उपसभापतिका प्रत्यासी चन्द्रभण्डारी पनि कस्सिएर लागेका छन् । कोइराला पक्षबाट प्रदेश एकका सभापतिका प्रत्यासी गुरुराज घिमिरे, कर्णाली प्रदेश सभापतिका पत्यासी भूपेन्द्रजंग शाही, सहमहामन्त्रीका प्रत्यासीद्वय रामकृष्ण यादव र तेजुलाल चौधरी पनि जनकपुरमै छन् ।

कमेन्टहरु