देश

ललिता निवास जग्गा प्रकरणका आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ

जगत ठाडा मगर
२०७८ पुस ७ | मध्यान्ह ०२:०९ बजे

काठमाडौ । ललिता निवास जग्गा प्रकरणमा नक्कली सरकारी कागजात तयार पारेको अभियोगमा रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार राति स्वयम्भूबाट सुवेदी दम्पतीलाई पक्राउ गरेको हो ।

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालीन भोगाधिकारी सुवर्णशम्शेरको परिवार नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदी बिचौलियाको भूमिकामा रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ । उनले २०४९, २०६२, २०६६/६७ र २०६९ गरी चारवटा सरकारका पालामा उच्चपदस्थ राजनीतिक व्यक्ति, कर्मचारी, मन्त्रालयका सचिव, मालपोत अधिकृत र अन्य भूमाफियासँग मिलेर १३६ रोपनीभन्दा बढी जग्गा हडपिएको अनुसन्धानबाट पुष्टि भएको थियो ।

सुवेदी दम्पतीसहित ११० जनाविरुद्ध सोही जग्गा प्रकरणमा बिगो कैद सहित हडपिएको जग्गा फिर्ताको माग दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते विषेश अदातलमा मुद्दा दायर गरेको थियो । अख्तियारको अनुसन्धानपछि पनि सुवेदी दम्पती फरार थिए । पक्राउसँगै सीआईबीले ललिता निवास प्रकरणको किर्ते मुद्दामा सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी गरेको छ ।

यो मुद्दा आगामी पुस २७ गते सम्म मात्र हदम्याद छ । पक्राउ परेको सुवेदी सहित सिआइबीले करिब ४ सय जना विरुद्ध प्रतिवादी बनाएर मुद्दा दायर गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

कमेन्टहरु