बुधबार पनि प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठकमा नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका छन् । एमालेले ‘पक्षपूर्ण व्यवहार बन्द गर’ भन्ने लगायतका नाराहरू लगाउँदै बुधबार पनि प्रतिनिसभा बैठक अवरुद्ध पारेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएका छन् । सभामुख सापकोटाले सभालाई सूचारु गर्न दिएर आफ्ना असहमति राख्न पटक पटक आग्रह गरेपनि एमाले सांसदहरुले त्यसको वेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद भन्ने नारा लगाएका थिए ।
एमालेले आफ्नो पार्टीले गरेको १४ सांसदमाथिको कारबाहीलाई सभामुख सापकोटाले मान्यता नदिएको र आफै पार्टी फुटाउने षडयन्त्रमा लागेका भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।






















