विवेकशील साझा पार्टीले पृथ्वीजयन्तीमा महाकाली– मेची एकता यात्रा गर्ने


काठमाडौं । विवेकशील साझा पार्टीले महाकाली–मेची राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने भएको छ । आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सो पार्टीले महाकाली–मेची राष्ट्रिय एकता यात्रा गर्न लागेको हो ।
मंगलबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । यात्रा पुष २७ गते कञ्चनपुरबाट सुरु भई माघ १६ गते झापा पुगेर अन्त्य हुने विवेकशील साझा पार्टीद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ । महाकाली–मेची यात्राको विस्तृत विवरण पछि प्रकाशित गरिने विज्ञप्तिमा जनाइएको छ ।
जारी विज्ञप्तिमा भनिएको छ : ‘नागरिकहरूका आ(आफ्ना वैचारिक दृष्टिकोण भए पनि “विचारभन्दा माथि देश” नै हो भन्ने भावना प्रवर्द्धन गर्नु, राष्ट्रिय एकता तथा देशको स्वाधीनता, शान्ति, स्थिरता, विकास र दूरगामी हितलाई सुनिश्चित गर्ने विवेकशील साझा पार्टीका एजेण्डा आम सर्वसाधारणसम्म पुर्याउनु, पार्टीको आम नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउनु र जातीय, क्षेत्रीय तथा धार्मिक रूपमा बढ्दै गएको मनोवैज्ञानिक दूरी कम गर्न सघाउनु राष्ट्रिय एकता यात्राको मूल उद्देश्य हुनेछ।’
पार्टीले यो विशेष यात्रामा आफ्ना सम्पूर्ण नेता, सदस्य र शुभेच्छुकहरुलाई साथ दिन आग्रह समेत गरेको छ ।






















