देश

हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिए

जगत ठाडा मगर
२०७८ पुस ७ | बिहान ११:०९ बजे

मुगु । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका हुम्लाका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको हो ।

चन्द्रले सुन्तली मल्लसँग अन्तरजातीय प्रेम विवाह गरेका थिए । सुन्तलीको परिवारले लगेर चन्द्रलाई निर्घात कुटपिट गरी बेपत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका सबै प्रहरी चौकीलाई खोजी कार्य तीव्र पार्न निदेर्शन दिएको थियो ।

प्रहरीले खोजी तीव्र पारेपछि बुधबार विहान उनलाई बाटोमा हिँड्दै गरेका अवस्थामा खार्पु प्रहरी चौकीका सुरक्षाकर्मीले भेटाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । सर्केगाड गाउँपालिका–१ जैर गाउँका १९ वर्षिय चन्द्रे र मुगु सोरु गाउँपालिका–४ लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग ५ मंसिरमा अन्तरजातीय विवाह गरेका थिए ।

उनीहरू दुवैलाई २९ मंसिरमा माइती पक्षले बोलाएर लगेको र त्यसपछि चन्द्रेलाई कुटपिट गरी बेपत्ता पारेको आरोप कामी परिवारले लगाउँदै प्रहरीमा उजुरी दिएका थिए । यसपछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायव उपरीक्षक हेरम्ब शर्मा आफैं घटनास्थलमा पुगेर चन्द्रेको खोजी कार्यमा जुटेका थिए ।

प्रहरीले अहिले माइत पक्षका बुवा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । युवक सम्पर्कमा आएकाले थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

कमेन्टहरु