आजको मौसम : चिसो बढ्ने क्रम जारी, हल्का हिमपातको सम्भावना

जगत ठाडा मगर
२०७८ पुस ७ | बिहान ०८:०९ बजे

काठमाडौं । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही तराईका थोरै भूभागमा कुहिरो लागेको छ ।
तराईका भू-भागहरूमा बिहानको समयमा कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रम जारी रहेको महाशाखाले जनाएको छ । काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसको आसपास रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री तथा जोमसोमको माइनस २ डिग्री सेल्सियससम्म पुगेको छ ।
बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ ।






















