गाउँपालिकाले वितरणमा ढिलाइ गरेपछि सिराहाका किसानले गोदामबाट आफैँ झिकेर लगे गहुँको बिउ


सिराहा । सिराहाका किसानले अनुदानमा बाँड्न राखिएको गहुँको बिउ कर्मचारीले वितरणमा ढिलाइ र बदमासी गरेको भन्दै आफैँ झिकेर लगेका छन् । जिल्लको औरही गाउँपालिका– ३ का किसानले प्राथमिक स्वास्थ्य केन्द्रको गोदाममा राखिएको दुई सय बोरा गहुँको बिउ मंगलबार बिहान १० बजे आफैँ झिकेर लगेका हुन् ।
औरही गाउँपालिकाले किसानलाई पूर्ण अनुदानमा वितरण गर्न गौतम, विजय र एनएल– ९७१ प्रजातिको गहुँको बिउ ल्याएको थियो । टेन्डर प्रक्रियाबाट गत २९ मंसिरमा दुई हजार ६ सय ४० क्विन्टल बिउ ल्याइए पनि वितरण अझै वितरण भएको थिएन । गहुँ छर्ने समय भइसक्दा पनि बिउ नपाउँदा किसान चिन्तित थिए । त्यसमाथि गाउँपालिकाका कर्मचारीले आफूनिकट र पहुँचवालालाई बिउ दिने गरेको, तर सामान्य किसानले दिनहुँ घन्टौँ लाइन बस्दा पनि बिउ नपाएको गुनासो गर्दै आएका थिए ।
मंगलबार पनि किसानहरू बिहानदेखि बिउका लागि लाइन बसेका थिए । कर्मचारीले वितरणमा आलटाल गरेको भन्दै आक्रोशित उनीहरूले गोदामको ताला खोलेर बिउ लुटेर लगेका हुन् । ‘२० किलो बिउका लागि दिनहुँ बिहानैदेखि लाइन बस्थ्यौँ, तैपनि पाइरहेका थिएनौँ,’ औरही गाउँपालिका– ३ का एक किसानले भने, ‘बिउ छर्न निकै ढिला भइसक्दा पनि कर्मचारीले अनेक बहाना बनाएर वितरणमा अलमल गर्दै आएका थिए । त्यही भएर हामी आफैँले बिउ लिएर गयौँ ।’
उनले चिसोको समयमा चार–पाँच किलोमिटर टाढाबाट आएर दिनहुँ लाइन बसेका किसानमाथि हदैसम्मको अन्याय गरिएकाले यो कदम उठाउन बाध्य भएको बताए । गाउँपालिकाको कृषि शाखाका प्रमुख राजदेव यादवले किसानहरूले दुई सय बोरा बिउ लुटेर लगेको बताए । उनले भने ‘एक बोरामा ४० किलो बिउ थियो । हामीले प्रत्येक किसानलाई २०–२० किलोका दरले पूर्ण अनुदानमा गहुँको बिउ दिने गरेका थियौँ । सोमबार पनि केहीबेर वितरण गरेपछि विवाद भयो । त्यसपछि हामीले वितरण रोक्यौँ, मंगलबार केही किसानले दुई सय बोरा लुटेरै लगे ।’
गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले भने सरकारी सम्पत्तिको हिनामिना भएको भन्दै आवश्यक परामर्शपछि कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिएका छन् । ‘यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग परामर्श थालेको छु, त्यसपछि कारबाही प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने ।






















