जुम्लामा बस दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते

जगत ठाडा मगर
२०७८ मंसिर १५ | बिहान ११:०८ बजे

जुम्ला । जुम्लामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको सिँजा गाउँपालिका–१ स्थित जाँचमा बस दुर्घटना भएको हो ।
गोठिज्युलाबाट सुर्खेततिर जाँदै गरेको ना.६ ख ४४३८ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार कालिकोट घर भएका ३२ वर्षीय विशाल बम र गाडी चालक दैलेख घर भएका ३२ वर्षीय नविन रावलको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइते हुनेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका घर भएका वीरबल घर्ती र ४० वर्षीया उब्जी सार्की रहेका छन् । घाइतेहरूलाई उपचारका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको प्रहरीले जनाएको छ । गाडी सडकबाट १०० मिटर तल खसेको छ ।






















