देश

चार वर्षीय बालकको हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान

जगत ठाडा मगर
२०७८ मंसिर १५ | बिहान ०८:०८ बजे

जनधपुरधाम, १५ मंसिर । धनुषामा चार वर्षीय बालकको हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ डिल टोल बस्ने मजिबुल मियाँ कवारीको छोरी मुस्कान खातुनको गत कात्तिक ९ गते भएको विवाहमा सहभागी हुन आएका भारतको बिहार राज्य अन्तर्गत मधुवनीको देउधा ग्राम पंचायत वडा नम्बर १४ बस्ने मोहम्मद अतावुल राईनकी पत्नी जुमैदा खातुनकी ४ बर्षीय छोरा अरमान राईनका साथ आएकी थिइन् ।

बिवाहको भिडभाड रहेको अवस्थामा बालक अरमान आफ्नो आमालाई पछ्याउँदै गणेशमान चारनाथ नगरपालिका वडा नम्वर ११ स्थित हबिव मिया र नुरेजा खातुनको घरको बिचको सानो गल्लीमा आइपुगेका थिए ।

एक्लै रुदै बसेको अवस्थामा स्थानीय जाकिर मलङ्ग र नुरेजा खातुनले ललाई फकाई कोही कसैलाई जानकारी नदिई अपहरण गरेको पाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । ‘यसपछि उनीहरुले आफ्नो घरको कोठामा लगी अरमाननको नाक मुख समेत आफ्नो हातले थुनी घाँटी समेत थिचेर मारेको देखिएको छ’ बस्नेतले भने, ‘बालकको हत्या गरी बिहान २ बजेतिर सोही नगरपालिकाको वडा नम्बर २ स्थित लाल बिहारी महतोको पोखरीमा फालेका थिए ।’

घट्नाको अनुसन्धान शुरु गरेको प्रहरीले कात्तिक १६ गते जाकिर मलङ्ग र नुरेजा खातुनलाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला अदालत धनुषाले पुर्पक्षको लागी कारागार पठाउने आदेश दिएपछि सिन्धुली कारागार पठाइएको प्रहरी प्रबक्ता बस्नेतले जानकारी दिए । छोरीको विवाह गर्ने मजिबुल मियाँ र बालकको हत्या गर्ने व्यक्तिबीच पुरानो रिसिविको कारण दुबै मिलेर बालकलाई मारेको देखिएको बस्नेतले बताए ।

कमेन्टहरु