देश

एमाले अध्यक्षमा भारी मतकासाथ केपी शर्मा ओली विजयी

जगत ठाडा मगर
२०७८ मंसिर १४ | मध्यान्ह ०३:०८ बजे

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार दिएका केपी शर्मा ओली भारी मतका साथ विजयी भएका छन् । चितवनमा आयोजित १० औं महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले १८०८ मत पाएर अध्यक्षमा निर्वाचित हुदा उनका प्रतिद्वन्द्वी भीम रावलले २१३ मत पाएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।

नवौं महाधिवेशनमा अध्यक्षमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका थिए ।

कमेन्टहरु