मैले एमालेको केन्द्रीय सदस्य त्यागिदिएँ अब संगठित सदस्य भएर बस्छु : लालबाबु पण्डित


काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले अब पार्टीको संगठित सदस्यमात्रै भएर बस्ने बताएका छन् ।
केपी ओलीले केन्द्रीय सदस्यमा सिफारिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले नेता पण्डितले भने – ‘मैले त्यागिदिएँ अब संगठित सदस्य भएर बस्छु, त्यो पनि रहन दिएनन् भने त्यो पनि त्यागिदिन्छु ।’
नेता पण्डितले यसअघि आफू पदाधिकारीमा चुनाव लड्ने बताएका थिए । उनले पार्टीको सचिव पदमा समेत मागदाबी गरेका थिए । तर, केपी ओलीले घोषणा गरेको १९ सदस्यीय पदाधिकारीको सूचीमा पण्डितको नाम नपरेपछि उनले केन्द्रीय सदस्यसमेत त्यागेर संगठित सदस्यमात्रै रहने घोषणा गरेका हुन् ।
मोरङमा डा. शेखर कोइरालालाई चुनावमा पराजित गरेका पण्डित एमालेका पुराना एवं त्यागी नेतामध्ये एक हुन् । सामान्य प्रशासनमन्त्री हुँदा डीभी भर्ने कर्मचारीमाथि कडारुपमा प्रस्तुत भएका पण्डित एमालेका एक लोकप्रिय नेतामा गनिन्छन् ।






















