वरिष्ठ उपाध्यक्ष दाबी गर्दै आएका सुवास नेम्वाङ उपाध्यक्षमा किन खुम्चिए ?


सौराहा । वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका नेकपा (एमाले)को नेता सुवास नेम्वाङ उपाध्यक्षमा खुम्चिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि निवर्तमान महासचिव ईश्वर पोखरेल र संसदीय दलका सुवास नेम्वाङ दावेदार थिए ।
अध्यक्ष केपी ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध चयन गरेपछि नेम्बाङ उपाध्यक्षमा पनि चुनाव लड्न बाध्य भएका छन् । उनले आगामी चुनावपछि राष्ट्रपतिको उमेदवार बन्ने गरी वरिष्ठ उपाध्यक्ष छोडेको पनि टिप्पणी भएको छ । तर, नेम्वाङले भने त्यसलाई अस्वीकार गरेका छन् ।
“सुवास नेम्वाङ बार्गोनिङमा विश्वास गर्दैन, त्यो विश्वास गर्नेहरूले चलाएको हल्ला मात्रै हो,” सोमबार बिहान सौराहास्थित महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग नेम्वाङले भने, “म पार्टीको सिपाही हुँ, पार्टीले दिएका जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्छु ।”
त्यस्तो बार्गेनिङ नगर्ने मान्छेले वरिष्ठ उपाध्यक्षमा उमेदवारी घोषणा गरेर उपाध्यक्षमा चाहिँ किन खुम्चिएको भन्ने प्रश्नमा नेम्वाङले जवाफ दिए “मलाई कार्यकर्ता र साथीहरूबाट वरिष्ठ उपाध्यक्ष लड् भन्ने सुझाव थियो । त्यसैले मैले वरिष्ठ उपाध्यक्ष लड्छु भनेको थिएँ । तर, पार्टीमा सर्वसम्मतिको प्रयास भयो । अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावलाई महाधिवेशनको हलले थपडी बजाएर समर्थन गर्यो । म त्यो प्रस्तावलाई स्वीकार गरेर उपाध्यक्षमा बसेको हुँ ।”
नेम्वाङले आफूले सुरुदेखि नै सर्वसम्मतिबाटै नेतृत्व चयन गर्ने पक्षमा रहेको दाबी गर्दै अध्यक्ष ओलीको वरिपरि अरू नेताहरूको व्यवस्थापन हुने गरी भएको प्रयास सकारात्मक भएको बताए ।






















