स्वास्थ्य

नयाँ भेरियन्ट ‘ओमिक्रोन’को उच्च सतर्कता अपनाउन नेपाललाई डब्लूएचओको आग्रह

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह ०५:०८ बजे

जितेश मण्डल
काठमाडौ, मङ्सिर १२ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण अफ्रिकासँगै विभिन्न देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई सचेत गराएको हो ।

दक्षिण पूर्वी एसियाका देशमा यसको खतरा झन् रहेको भन्दै विश्व स्वास्थ्य संगठनले विज्ञप्ति जारी गरेरै सचेत रहन ध्यानाकर्षण गराएको छ । दिल्लीस्थित क्षेत्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा यी क्षेत्रमा तीव्र रुपमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिन सक्ने उल्लेख गरेको छ । त्यही भएर सतर्कता अपनाउन र जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनलाई निरन्तरता दिन कार्यालयले आग्रह गरेको छ ।

डब्लूएचओका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहका अनुसार विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको छ । उनले संक्रमण जोखिम अझै नटरेको भन्दै नियन्त्रणका लागि सतप्रतिशत प्रयास जारी राख्नुपर्ने बताइन् । नयाँ भेरियन्टलाई भित्रिन नदिन अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु अपनाउन डब्लुएचओले सुझाव दिएको छ ।

कमेन्टहरु