स्वास्थ्य

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण

जगत ठाडा मगर
२०७८ मंसिर १२ | मध्यान्ह ०४:०८ बजे

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि समेत उपलब्ध गराउने अभियान सुरु गरेको छ । ज्येष्ठ नागरिकलाई आधारभूत स्तरको स्वास्थ्य सेवा सहज रुपमा पुर्‍याउने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको हो ।

स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्यक्रम नगरपालिकाको १७ वटै वडामा संचालन गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई जना स्वास्थ्यकर्मीले ज्यष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका छन् । सामान्य स्वास्थ्य समस्या भएकाहरुलाई निःशुल्क औषधि दिएको र स्वास्थ्य अवस्था जटिलउन्मुख भए आवश्यकताअनुसार अस्पताल पठाइएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

नगरपालिकाले विभिन्न ११ किसिमका औषधि र मधुमेह परीक्षणको समेत निःशुल्क व्यवस्था गरेको छ । प्रयोगशाला परीक्षण आवश्यक भए ज्येष्ठ नागरिकलाई प्रयोगशालामा समेत पठाइने जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए । उक्त नगरमा ७० वर्षमाथि झण्डै चार हजार आठ सय ज्येष्ठ नागरिक रहेका छन् ।

कमेन्टहरु