एमाले केन्द्रीय कमिटीको सूची तयार, रुजुका लागि ओलीलाई बुझाइयो


चितवन । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । प्रस्तावित केन्द्रीय नेताहरूको सूची एमाले नेता विष्णु पौडेलले प्रिन्ट गरेर अध्यक्ष ओलीलाई रुजुका लागि बुझाएका हुन् ।
सौराहास्थित पार्क सफारी होटलमा बसेर केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावली तयार पार्न केपी शर्मा ओली, शंकर पोखरेल, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरूको टोलीले आज दिनभरजसो गृहकार्य गरेको थियो । यस क्रममा केही केन्द्रीय सदस्यका दाबेदारहरुलाई बेग्लाबेग्लै बोलाएर अध्यक्ष ओलीले छलफल गरेका थिए ।
३०१ सदस्यीय केन्द्रीय कमिटीमा क–कसको नाम प्रस्ताव गरिएको छ भन्ने खुलाउन बाँकी छ । अब यो सूची अध्यक्षका तर्फबाट बन्दसत्रमा प्रस्तुत गरिने तयारी छ । सूचीमा चित्त नबुझ्ने उम्मेदवारी दिन सक्ने र सहमति नजुटेका पदहरूमा निर्वाचन हुने सक्ने अध्यक्ष ओलीले शनिबार रातिको बन्दसत्रमा बताएका थिए ।
अरु नेताहरू सहमतिमै नेतृत्व चयन गर्न तयार भए पनि भीम रावल र घनश्याम भुसालले भने अहिलेसम्म चुनाव लड्ने अडान छाडेका छैनन् । यता, एमाले नेता पृथ्वी सुब्बा गुरुङले ९० प्रतिशत सीटमा सहमति जुटेको बताए । एमालेको विधान अनुसार १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने प्रावधान छ ।






















