राजनीति

सौराहामा एमालेको बन्दसत्र आज, अध्यक्ष ओलीसहित विदेशी पाहुनाले सम्बोधन गर्ने

जगत ठाडा मगर
२०७८ मंसिर ११ | बिहान ०७:०८ बजे

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुनेछ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ ।

आजै बेलुकासम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको निर्वाचन समितिले जनाएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र भोलि मतदान गर्ने कार्यक्रम छ । एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी सर्वसम्मत चयनको उद्देश्यले पार्टीको पदाधिकारीको संख्या बढाइएको छ ।

बन्दसत्रअघिको अन्तिम केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको संख्या बढाउने प्रस्ताव पेश गरेका थिए । उनले विधान महाधिवेशनबाट पारित १५ सदस्यीय पदाधिकारीलाई बढाएर १९ जना पुर्‍याउने प्रस्ताव राखेका थिए । केन्द्रीय कमिटी बैठकले अध्यक्षको त्यस प्रस्तावलाई अनुमोदन गरेको हो ।

विधान महाधिवेशनबाट पारित भएको प्रस्तावमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र महासचिव १ उपमहासचिव र सात सचिवको व्यवस्था गरेको थियो । त्यसलाई केन्द्रीय कमिटीले सच्याउँदै २ उपमहासचिव र २ उपाध्यक्ष थप गर्ने प्रस्ताव अनुमोदन गरेको हो । यो प्रस्ताव बन्दसत्रबाट पारित गरेर विधान संशोधन भएपछि लागू हुनेछ ।

पदाधिकारीको सख्या बढाएसँगै एमालेभित्र सर्वसम्मतबाट नेतृत्व चयनको सम्भावना बढेको सचिव योगेश भट्टराईले बताए ।

कमेन्टहरु