राजनीति

एमालेमा पदाधिकारी र सदस्यहरु थप्ने ओलीको प्रस्ताव सर्वसम्मत रुपमा पारित

जगत ठाडा मगर
२०७८ मंसिर ११ | बिहान ०७:०८ बजे

चितवन । नेकपा एमालेमा पदाधिकारी र सदस्यहरुको संख्या थपिने भएको छ । दशौं महाधिवेशन उद्घाटनपछि बसेको अन्तिम केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको पदाधिकारी र सदस्यहरूको संख्या थप्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।

जस अनुसार केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए । यसअघि केन्द्रीय कमिटी २२५ सदस्यीय रहने भनिएको थियो । यस्तै पोलिटब्यूरो समेत बनाइने भएको छ । पार्टी विधानबाट पोलिटव्यूरोको व्यवस्था हटाइएको थियो । ओलीले बैठकमा ९९ सदस्यीय पोलिटव्यूरो बनाउने प्रस्ताव गरेका छन् । स्थायी कमिटी ४५ सदस्यीय, पदाधिकारीमा (सचिवालय) १९ जना रहने छन् । यसअघि पदाधिकारीमा १५ जनाको व्यवस्था गरिएको थियो ।

प्रस्ताव अनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ रहनेछन् । उपमहासचिव र उपाध्यक्षमा २/२ जना थप गर्ने ओलीको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । अनुशासन आयोग र लेखा आयोगमा २५ सदस्यीय रहनेछन् । पार्टीमा आकांक्षी धेरै देखिएपछि सर्वसम्मत गराउन पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउन अध्यक्ष ओलीले प्रस्ताव गरेको एक नेताले बताए ।

 

 

 

 

कमेन्टहरु