माओबादीले देशभरका पालिकाको सम्मेलन गर्दै, प्रचण्डले भर्चुअल रूपमा सम्बोधन गर्ने


काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिकास्तरीय सम्मेलन गर्न लागेकाे हाे ।
पालिका सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल रूपमा सम्बोधन गर्नेछन् । दिउँसो १ बजे प्रचण्डले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन् । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार आजको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ । यही मङ्सिर २५ गते प्रदेश सम्मेलनको आयोजना गरिएको छ ।
आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादीको तयारी छ । माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ । पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ । माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रीत हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ ।
माओवादीले पार्टीले विधानको व्यवस्थाअनुसार निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको छ । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिनाअगाडि नै गठन भएका थिए ।
पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ । वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ ।
वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन् । यस्तै नगरमा २००, उपमहानगरमा ३०० र महानगरमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने प्रमुख श्रेष्ठले जानकारी दिए । सबै पालिका अधिवेशनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न माओवादीले विशेष परिपत्र गरिएको जनाएको छ ।






















