देश

एमाले महाधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न, भोलि बन्दसत्रको लागि सौराहातर्फ लागे नेताहरू

जगत ठाडा मगर
२०७८ मंसिर १० | मध्यान्ह ०५:०८ बजे

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सकिएलगत्तै नारायणी नदी किनारबाट एमाले नेताहरू भोलिबाट सुरु हुने बन्द सत्रका लागि सौराहातर्फ लागेका छन् ।

चितवनको नारायणी नदी किनारमा भएको उद्घाटन सत्रको अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गरेर उद्घाटन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले आफ्ना लागि नभई देशका लागि बहुमत ल्याउनु पर्ने बताए । ओलीले आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त सुनाउँदै आगामी निर्वाचनहरूमा एमाले पहिलो पार्टी बन्ने दाबी गरे ।

उनले आफूलाई अप्ठेरो पार्नेहरूले नै आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा समातेर काम गर्न नदिएको साङ्केतिक टिप्पणी गरे । सम्बोधनका क्रममा उनले आफ्नो नेतृत्वको सरकारको पालामा विकासको जग हालेको भन्दै आफ्नै सरकारको पालामा नेपालले अन्तरिक्षमा आफ्नै स्याटलाइट पठाएको दाबी गरे । उनले भने ‘अब नेपालको उपस्थिति अन्तरिक्षमा हुन्छ, अन्तरिक्ष हाम्रो पनि हो ।’

महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना मन्तव्य राख्दै जेल जीवनको स्मरण गरे उनले जेलमा एमाले अध्यक्ष ओली र आफू जेलमेट रहेको बताए । उनले सबै राजनीतिक दलहरू मिलेर संविधान जारी गरेको भन्दै अब पनि सहकार्य गरेर अघि बढ्न सकिने र संविधानबाटै मुलुकको विकास र समृद्धि गर्न सकिने धारणा राखे ।

महाधिवेशन उद्घाटन सत्रको बीच समयमा मञ्च टेकेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले महाधिवेशनको सफलताको शुभकामना दिँदै मुलुकमा अहिले भइरहेको अराजकताको जिम्मा स्वयं राजनीतिक दलहरूले लिनु पर्ने बताए । उनले भने ‘राजनीति गर्ने व्यक्तिहरू अहिले त्यसलाई पेसा बनाएका छन् । यो सुध्रिन जरुरी छ । राज्य र जनताको हितलाई दलहरूले प्राथमिकता दिनु जरुरी छ’

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभएको प्रति असन्तुष्टि व्यक्त गर्दै मधेसी जनताका माग प्रति वर्तमान सरकार पनि जिम्मेवार हुनुपर्ने बताए । उनले संविधान संशोधनका लागि सडकमा अझै २० लाख मानिस उतार्ने चेतावनीसमेत दिए ।

महाधिवेशनमा शुभकामना दिँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको संस्थागत हुन नसकेको भन्दै गुनासो पोखे । उनले राज्यका अङ्गहरू प्रभावकारी बनाउँदै जनताका काममा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे । मधेस आन्दोलनका उपलब्धिहरू ओझेलमा पार्न खोजिएको उनको गुनासो छ ।

अध्यक्ष ओलीको प्रशंसामा आफ्नो सम्बोधनलाई केन्द्रित गरेका राप्रपाका अध्यक्ष कमल थापाले मुलुकलाई संकटबाट जोगाउन अझै पनि केपी ओलीको खाँचो रहेको बताए । उनले चुच्चे नक्सा, सिके राउत, विप्लव तथा नाकाबन्दीको प्रसङ्ग कोट्याउँदै केपी ओलीमा राष्ट्रवाद प्रति दृढ सङ्कल्प रहेको भन्दै प्रशंसा गरे ।

यसैगरी नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि राजनीतिक दलहरूबीच एकताको विकल्प नरहेको बताए । उनले कम्युनिष्ट आन्दोलन प्रति जनताको विश्वास अझै कायम रहेको भन्दै कम्युनिष्ट पार्टीमा विभाजन र एकता स्वाभाविक प्रक्रिया भएको धारणा राखे । उनले एक्लो यात्राले मात्र समृद्ध नेपाल निर्माण सम्भव नरहेको टिप्पणी गरे ।

कमेन्टहरु