कांग्रेस बैतडीको सभापतिमा पौडेल समूहका चन्द विजयी


काठमाडौं । नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक भएको मत परिणामअनुसार चन्द ३२० मत अन्तरले विजयी भएका हुन् ।
सभापतिमा चन्दले ८०९ मत ल्याएर जितेका हुन् भने उनका निकटतम् प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए । यस्तै उपसभापतिमा वीरबहादुर विष्ट ६५८ मत ल्याएर विजयी भएका छन् भने अर्का उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मतसहित विजयी भएका छन् ।
यस्तै सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द ६४० तथा देवराज जोशी ६३३ मत प्राप्त गरी विजयी भएका हुन् । सचिवमा पराजित भट्ट प्यानलका रमेशसिंह भण्डारीले ५९५ र कर्णबहादुर बोहराले ५२९ मत ल्याएका थिए । सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत जोशीले बताए । सो पदमा पराजित भएका भट्ट प्यानलका घनश्याम भट्टले ५३० र रमेश कोलीले ५७४ मत ल्याएका थिए ।
एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलकै उमेदवार विजयी भएका छन् । जिल्लामा एक हजार ४०२ प्रतिनिधि रहेकोमा एक हजार ३४८ मत खसेको थियो ।






















