देश

भन्सार छलेर ल्याउँदै गरेको साढे ५ लाखभन्दा बढीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद

जगत ठाडा मगर
२०७८ मंसिर ६ | मध्यान्ह ०७:०८ बजे

बांके । भन्सार छलेर नेपाल ल्याइँदै गरेको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरी नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट गएको सशस्त्र प्रहरीको टोलीले सोमबार बिहान ४ बजे लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए।

तस्करहरूले खुला सीमाको फाइदा उठाउँदै भारतबाट भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले कपडा बरामद गरेको हो । टोलीले बाँकेको खजुरा गाउपालिका-७ सिमलघारीबाट भारतबाट लुकाइछिपाई नेपालगञ्ज ल्याउँदै गरिएको पाँच लाख ५८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए।

उनका अनुसार बरामद लत्ताकपडामा दुई लाख ८८ हजार रुपैयाँ बराबरको सुट पाइन्टको दुई सय ८८ थान, दुई लाख ७० हजार रुपैयाँ बराबरको ९० पिस विवाहमा लगाउने साडी रहेका छन् । बरामद सबै लत्ताकपडालाई आवश्यक कारवाहीको लागि सोमबार दिउँसो नेपालगञ्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी उपरीक्षक बमले जानकारी दिए।

कमेन्टहरु