अविरल वर्षासँगै आएको बाढीपहिरोले ७ राष्ट्रिय राजमार्ग ठप्प


काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा मुख्य सडकमा क्षति पुर्याउँदा यातायात प्रभावित भएको छ।
सडक विभागका अनुसार काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्। पूर्व–पश्चिम राजमार्गसहित छ सडकखण्डमा भने एकतर्फी तथा आंशिक रूपमा यातायात सञ्चालनमा आएको विभागले जनाएको छ।
यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको रजैयामा पहिरो गएपछि एकतर्फी यातायात सञ्चालन भइरहेको छ। पहिरो पन्छाएर सडक पूर्णरूपमा सञ्चालन गर्न उपकरण परिचालन गरिएको छ।
यस्तै पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा पहिरो खसेपछि दुईतर्फी आवागमन अवरुद्ध छ। पहिरो पन्छाउने काम भइरहेको विभागले जनाएको छ।
उता नारायणघाट–मुग्लिन सडकखण्डको नाम्सी खोला पुलमा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरो हटाउने काम जारी छ।
यस्तै बिपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाएपछि यातायात बन्द छ। निरन्तर वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले आज सडक सञ्चालन गर्न नसकिने विभागले जनाएको छ।
कान्ति राजमार्गको चपली र तकुर्चेलगायत स्थानमा पहिरो खसेपछि यातायात बन्द छ। सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी सडकको सोलुखोला नजिक सडक भासिएपछि भित्तो कटान गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिएको छ।
यसैगरी मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–हटिया खण्ड, नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान र चौराहलगायत स्थानमा पहिरो तथा ढलेका रुख हटाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।
यस्तै कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा–२ बैसेरी सिरुवारीमा पहिरो खसेपछि वर्षाका कारण सडक खुलाउन कठिनाइ भएको छ। जैमिनी–८ को बेलबगरमा स्थानीय यातायातका लागि एकतर्फी सडक खुलाइएको भए पनि लामो दूरीका सवारीलाई अनुमति दिइएको छैन।
यसैगरी तमोर करिडोरको मुलघाट–फिदिम खण्डअन्तर्गत छरुवा खोला, नवा खोला र रानीगाउँमा सडक आंशिक अवरुद्ध छ। नदीको बहाव बढ्दा सडक बन्द हुने र घटेपछि सञ्चालन हुने अवस्था रहेको विभागले जनाएको छ।
राप्ती राजमार्गको कपुरकोट–खारखोला–टुनीकोट खण्ड पहिरोका कारण पूर्णरूपमा बन्द छ।
कर्णाली राजमार्गको गगने खोला, राँका तथा बाङ्गेसिमल–दहीखोला खण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ।
भालुवाङ–चकचके–लिवाङ सडकका विभिन्न स्थानमा पहिरो खसेपछि आंशिक अवरोध भएको छ। साना सवारीसाधनलाई सावधानीपूर्वक सञ्चालन गर्न दिइएको छ भने पहिरो तथा ढुङ्गा हटाउने काम भइरहेको छ।
बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिकास्थित खोत्रोमा ढुङ्गा खसेपछि सडक पूर्णरूपमा बन्द छ। पहिरो पन्छाउन कठिनाइ भइरहेको विभागले जनाएको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडक अवरोध हटाई यातायात सेवा यथाशीघ्र सञ्चालन गर्न उपकरण तथा प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।






















