राजनीति

आगामी महाधिवेशनबारे पार्टीमा छलफल गर्न खोज्दा कसैले पनि रुचि देखाएनन् : उपाध्यक्ष रावल

जगत ठाडा मगर
२०७८ मंसिर ६ | मध्यान्ह ०५:०८ बजे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आगामी महाधिवशेनका विषयमा छलफल गर्न खोज्दा पार्टीभित्रका कुनै सदस्यले रुची नदेखाएको गुनासो गरेका छन् ।

सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले उपाध्यक्षको हैसियतले आफूले १०औँ महाधिवेशनको विषयमा अध्यक्ष केपी ओली र स्थायी कमिटी बैठकमा छलफल गर्न चाहेपनि रुची नदेखाएको गुनासो गरेका हुन् । यसअघि महाधिवेशनको एक दुई महिनाअघि नै उम्मेदवारका विषयमा छलफल हुने भएपनि यसपटक त्यसो हुन नसकेकाले लक्ष्य र उद्देश्य स्पष्ट पारेर अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको उनले बताए ।

उपाध्यक्ष रावलले राष्ट्र र एमालेलाई बलियो बनाउँदै आगामी चुनावमा विजयी गराउन आफ्नो भूमिका हुने जिकिर गरे । यसपटक पार्टीले नै समूहगत रूपमा उम्मेदवारी नदिने निर्णय गरेकाले आफूले एक्लै उम्मेदवारी दिएको भन्दै रावलले पार्टी रुपान्तरणमा लाग्न सबैले साथ दिने विश्वास व्यक्त गरे । एमालेको स्थायी कमिटी बैठकका लागी रावल लगायतका नेताहरू तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेका थिए ।

तर एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका कारण मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

कमेन्टहरु