कम्युनिस्टभित्र ‘भिलेन’ को रुपमा ओली देखा परेपछि दुःख पाइयो : प्रचण्ड


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टीभित्र ‘भिलेन’ का रुपमा केपी ओली देखा परेकाले दुःख पाइएको बताएका छन् । सोमबार भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।
प्रचण्डले कम्युनिस्टहरु एकता भएपछि धेरै ठुलो स्थिरता, समृद्धि होला र सुकुम्वासी समस्या पनि समाधान गर्न सकिएला भन्ने सपना देखेर पार्टी एकता गरेपनि त्यो सपना पूरा हुन नपाएको बताए । प्रचण्डले भने ‘सपना त धेरै ठुलो देखेको हो, तर कम्युनिस्टभित्र एउटा भिलेन देखापरेपछि दुःख पाइयो ।’
प्रचण्डले अहिले नयाँ भूमि आयोग बनेको भन्दै भूमि व्यवस्था मन्त्रालय आफ्नै पार्टीको जिम्मेवारीमा परेकाले भूमि सम्बन्धी समस्या समाधान गर्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिएको बताए । ‘पूर्व, मध्य र पश्चिम तीनवटै क्षेत्रमा नमुना जिल्लाहरु छानेर लालपुर्जा वितरण गर्ने र अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने कोशिश गर्ने कामको सुरुवात गर्न भनेको छु’, प्रचण्डको भनाइ छ ।
उनले केही दिनभित्रै भरतपुरका सुकुम्वासीहरूलाई लालपुर्जा वितरण गर्ने आश्वासन समेत दिए । प्रचण्डले भने ‘सायद केही दिनभित्र यहाँ लालपुर्जा वितरण र भूमि व्यवस्थापनको काम सुरु हुन्छ । म चुनावमा अर्कोचोटी भोट माग्न आएँ भने लालपुर्जा वितरणले पनि एउटा नयाँ गति लिइसक्छ र तपाईंहरुले आँखा चिम्लेर भोट हाल्नुहुन्छ भन्ने विश्वास छ।´






















