म्यानचेष्टर युनाइटेडका प्रशिक्षक सोल्सायर बर्खास्त

जगत ठाडा मगर
२०७८ मंसिर ५ | मध्यान्ह ०५:०८ बजे

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेको छ ।
आइतबार वाटफोर्डसँग ४–१ को लज्जास्पद हार व्यहोरेपछि युनाइटेडले २४ घण्टा बित्न नपाउँदै सोल्सायरलाई हटाएको हो । यो हारसँगै युनाइटेड प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीभन्दा १२ अंक पछाडि परेको छ । युनाइटेडले लिगमा पछिल्लो सातमध्ये एक खेलमा मात्र जित हात पारेको छ भने लिभरपुलसँग ५–० र म्यानचेष्टर सिटीसँग २–० को हार व्यहोरेको छ ।
सोल्सायर डिसेम्बर २०१८ मा युनाइटेडका अन्तरिम प्रशिक्षक बनेका थिए । जोजे माउरिन्हो बर्खास्त भएपछि अन्तरिम प्रशिक्षकको भूमिका पाएका उनलाई युनाइटेडले २०१९ मार्चमा पूर्ण रुपमा प्रशिक्षक बनाएको थियो । उनले जुलाइमा मात्र २०२४ सम्म ३ वर्षको सम्झौता गरेका थिए ।






















