राजनीति

प्रधानमन्त्री देउवाले योगगुरु रामदेवको टिभी उद्घाटन गरेकोमा एमालेको विरोध

जगत ठाडा मगर
२०७८ मंसिर ५ | मध्यान्ह ०४:०८ बजे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले योगगुरु रामदेवको टिभी च्यानल उद्घाटन गरेकोमा नेकपा एमालेले विरोध जनाएको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानुन विपरित काम गरेको टिप्पणी गरे ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले नेपालको कानुनले निषेध गरेको ती टेलिभिजन च्यानलहरू उद्घाटन गर्नुको कारण के हो ? भनेर प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरे । आईतबार प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालले सञ्चार माध्यमहरुमा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरु स्वागत गर्न नसकिने स्पष्ट पारे ।

यहि मंसीर ३ गते योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाममा दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका थिए । ज्ञवालीले सो च्यानल नेपालको कानुन विपरित राष्ट्रिय हितभन्दा फरक ढंगले सञ्चालनमा आएको प्रतिक्रिया समेत दिए ।

कमेन्टहरु