देश

इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान

जगत ठाडा मगर
२०७८ मंसिर ५ | मध्यान्ह ०२:०८ बजे

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की प्रस्थान गरेका छन् । टर्कीको ईस्तानबुलमा मंसिर ७ देखी ९ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ८९ औं महासभामा सहभागी हुन आईजीपी थापा आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो नेपाल प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक थापासँगै महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधानसमेत त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे ।

१९४ इन्टरपोल सदस्य राष्ट्रका हेड अफ द एनसीबी तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रको वार्षिक प्रतिवेदन पेशसँगै इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीको निर्वाचन र नयाँ सदस्यताका लागि आवेदन समेत हुनेछ । यसवर्ष महासभामा इन्टरपोल सदस्यताको लागि दि फेडेरेटेट स्टेट्स अफ माइक्रोनेसियाले आवेदन गरेको छ ।

महासभामा सुरक्षा तथा अपराध नियन्त्रणका विषयमा विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने लगायतका कार्यक्रम रहेका छन् । महासभामा इन्टरपोल तथ्याङक प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखनजस्ता अपराध लगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम रहेको छ ।

साथै नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दक्षिण कोरिया र बंगलादेशसँगसमेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा एआईजी निरजबहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

कमेन्टहरु