प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा उठाउनुपर्छ : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली अवलम्बन गर्नुपर्ने बताएका छन्।
शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनमा अर्थ मन्त्री शर्माले अबको आवश्यकता प्रत्यक्ष निर्वाचित कार्यकारी रहेको बताएका हुन्। शर्माले भने, ‘यो देशलाई जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यक छ। त्यसले कम्तिमा पनि पाँच वर्ष आफ्नो भिजन कार्यान्वयन गर्न पाउनेछ’, उनले भने, ‘यो हाम्रो एजेन्डा बाँकी छ। यसलाई पुनः अगाडि लैजानुपर्छ।’
समाजवादका लागि समुदायलाई बलियो बनाउनुपर्नेमा जोड दिनुहुँदै मन्त्री शर्माले अबको कार्यदिशा उत्पादनमा आधारित रहेर सामुदायिक पुँजी निर्माण रहेको बताए। ‘गरिबी अन्त्य गर्ने, असमानताको अन्त्य गर्ने, सामाजिक न्याय स्थापित गर्ने कुरा आजको प्रमुख कुरा हो’, उनले भने, ‘सामाजिक न्याय स्थापित गर्दै त्यसमा आधारित भएर हामीले समुदायलाई बलियो बनाउनुपर्छ।
सामुदायिक पुँजीलाई बलियो बनाउनुपर्छ। मूलतः सामुदायिक पुँजी निर्माणले नै समाजवादको आधार तयार गर्न सक्छौँ।’ मन्त्री शर्माले उत्पादनका साधन र स्रोतमाथि समुदायको स्वामित्व हुनुपर्नेमा जोड दिए।
‘उत्पादनका साधन र स्रोतमाथि सामुदायिक स्वामित्व स्थापना गर्नुपर्छ। त्यसबाट मात्रै समाजवादको आधार तयार हुनसक्छ।’ पार्टी कमिटीले उत्पादन र रोजगारीको क्षेत्रमा नेतृत्व गर्नुपर्ने तथा अर्कोतिर सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानसमेत सँगसँगै लानुपर्ने उनको भनाइ छ। त्यसबाट समाजवादको प्रारम्भिक चरण अघि बढ्ने उनले बताए।
मन्त्री शर्माले प्रत्येक सदस्यको समान अधिकार भएको एक मात्र पार्टी माओवादी केन्द्र भएको दाबी गरे। पछिल्लो समय चुनाव प्रणाली खर्चिलो भएको बताउँदै मन्त्री शर्माले माओवादीले पुनः पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई अघि सानुपर्ने बताए।
पार्टीले विगतदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा उठाएको स्मरण गर्दै उनले पुनः त्यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।






















