राजनीति

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जनकपुर आउँदै

जगत ठाडा मगर
२०७८ मंसिर ४ | मध्यान्ह १२:०८ बजे

धनुषा । नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपाल जनकपुर आउने भएका छन् । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम गरेर फर्किएलगत्तै एसका अध्यक्ष नेपाल पनि जनकपुर आउन लागेका हुन् ।

७ मंसिरमा अध्यक्ष नेपाल जनकपुर आउने तय भएको नेकपा एस प्रदेश २ कमिटीले जनाएको छ । अध्यक्ष नेपालले ७ गते तिनकोरियामा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अन्य पार्टी परित्याग गरी नेकपा एसमा प्रवेश गर्ने २ सयभन्दा बढी नेता, कार्यकर्तालाई स्वागत गर्ने र भोलिपल्ट ८ गते लहानको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको नेकपा एस प्रदेश २ का अध्यक्ष धर्मदेव साहले जानकारी दिए ।

८ गते नै अध्यक्ष नेपाल जनकपुर फर्किएर प्रदेश कमिटीको कार्यालयको औपचारिक उद्घाटन गरेर संघीय राजधानी फर्कने कार्यक्रम रहेको अध्यक्ष साहको भनाइ छ ।

कमेन्टहरु