काठमाडौंमा कांग्रेस निर्वाचन : क्षेत्र नं. २ को प्रदेश ‘क’ मा खड्का र ‘ख’ मा अधिकारी


काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ को प्रदेश ‘क’ को सभापतिमा धुव्र अधिकारी र प्रदेश ‘ख’ को सभापतिमा उद्धव खड्का विजयी भएका छन् ।
पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार सम्पन्न प्रदेशसभा अधिवेशनमा क्रमशः अधिकारी र खड्का सभापतिमा निर्वाचित भएका हुन् । प्रदेशसभा ‘क’ को उपसभापतिमा प्रमोद सञ्जेल र मधु पन्थी, सचिवमा भरतबहादुर खड्का र सरोजा सापकोटा तथा सहसचिवमा चोपराज कोइराला र सुजन रेग्मी विजयी भएका छन् ।
प्रदेशसभा ‘ख’ को उपसभापतिमा प्रकाश स्याङ्बो र सहदेव कार्की, सचिवमा कुमार खतिवडा र आशिष तामाङ तथा सहसचिवमा निरज खड्का र रुपक बस्ताकोटी विजयी भए । यसअघि काठमाडौंको १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौंमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् ।
यस्तै, काठमाडौंमा आगामी मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ । रासस






















